
पूणर्पुष्टि, मंसिर १३
कोरोना भाईरसको पहिलो लहर नसकिँदै जाडो मौसममा दोस्रो लहर सुरु हुन सक्ने भन्दै विज्ञहरुले स चेत रहन आग्रह गरेको छ । चिसोमा आरएनए भाइरस वृद्घि हुन सक्ने भएकाले कोरोनाको लहर दोस्रो अवस्थामा पुग्ने बिज्ञहरुले बताएका छन् । कोरोनाको दोस्रो लहरबाट बच्न नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ ।
‘अहिले मुलुकमा देखिएको पहिलो लहर घटेर तल पुगेको छैन तर डिसेम्बरदेखि फेब्रुअरीसम्म दोस्रो लहर आउने सम्भावना रहेको स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसै साता चेतावनी जारी गर्दै दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन आग्रह गरेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई दोस्रो लहरको सामना गर्न तयार हुन भनेका सुुझाव दिएको छ । विज्ञका अनुसार रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिन्छ । संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्छ । आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन् ।
नेपालमा सुरुवाती अवस्थामा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएकाहरूमा आयातित संक्रमण थियो । हाल कोरोनाको पहिलो लहर आएर संक्रमण विस्तार भइरहेको विज्ञ बताउँछन् । डा. पाण्डेका अनुसार हाल नेपालमा संक्रमण घट्दो क्रममा देखिए पनि मृत्यु बढ्दो क्रममा छ । पीसीआर परीक्षणसमेत पहिलेको दाँजोमा कम छ ।
‘जाडोयाममा संक्रमणको थप जोखिम भएकाले यसबाट बच्न अतिरिक्त स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सलटेन्ट डा. अनुप बाँस्तोलाले भने, ‘कोभिडविरुद्घको खोप आउन समय लाग्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर जोखिम समूहमा रहेकालाई सुरक्षित राख्नुपर्छ ।’ हाल मधुमेह भएका र बूढापाकामा बढी जटिलता रहेको बताउँदै उनले थपे, ‘हामी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिरहेका छैनौं । घरबाहिर ननिस्केका ९० वर्षीय हजुरबुबासमेत संक्रमित भएर जटिल अवस्थामा अस्पताल पुगिरहेका छन् ।’
