Sunday, June 28News That Matters

जोन्सनको खोप सुरक्षित र प्रभावकारी

पूर्णपुष्टि, फागुन १३ 

कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको छ । अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।

योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यो खोपले अनुमति पाए सस्तो र सजिलो खोपका लागि सजिलो विकल्प हुने जनाईएको छ ।

यो खोप रेफ्रिजेरेटरमा पनि राख्न सकिने भएकाले भण्डारणमा सहज हुने भनिएको छ । यस्तै, यो खोपको मात्रा एक डोज दिएमात्रै पनि पुग्ने छ । अहिले प्रयोगमा आएको मोर्डना र फाइजरको खोपको मात्रा दुई डोज दिने गरिएको छ ।

जोन्सन एण्ड जोन्सनले गत महिना आफ्नो  परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । यसको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । परीक्षणमा गम्भीर बिरामी हुनबाट रोक्न यो खोपको ८५  प्रतिशत प्रभावकारिता पाइएको थियो भने समग्रमा खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको थियो ।

भोलि विशेषज्ञ टोलीले यो खोपलाई मान्यता दिने नदिनेबारे निर्णय गर्ने जनाईएको छ ।