Friday, May 22News That Matters

तनहुँको पहिरोमा परि मृत्यु हुनेको संख्या ६ पुग्यो

पूर्णपुष्टि, असार २९ 

तनहुमा अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा ४ जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा १ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ ।

स्थानीय ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोले पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिरोले पुरिएर म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पहिरोले पुरिएर बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । तर, अझै ४ जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीय अनबहादुर थापाको घर पहिरोले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, उनकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धारपछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।