
उदयपुर, कार्तिक १३ गते ।
उदयपुरको जलजले–मुर्कुची सडकखण्डको चुहाडेमा बुधबार सडक दुर्घटनामा एक युवाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । तिब्रगतिमा कुदेको स २ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लड्दा सिरहाको सुखिपुर नगरपालिका ७ का ३० वर्षिय अभिनान ठाकुरको ज्यान गएको हो । मोटरसाईकलको पछाडि सवार ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो । मोटरसाईकल चालक सिरहाकै लहान नगरपालिका १७ का ३० वर्षिय दुर्गानन्द विश्वकर्मा घाइते भएका छन् । उनीहरु सिरहाबाट तिहार मनाउन उदयपुर आएको बुझिएको छ ।
प्रहरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार चुहाडेबाट जलजलेतर्फ जाने क्रममा त्रियुगा नगरपालिका ७ चुहाडेको नमुनाचौकमा मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लडेको थियो । मोटरसाईकल लडे लगत्तै स्थानीयले उद्धारगरी गम्भिर घाइते ठाकुरलाई जिल्ला अस्पताल पुर्याए । मोटरसाईकल र चालक विश्वकर्मालाई भने अस्थायी प्रहरी चौकी चुहाडेले नियन्त्रणमा राखेको जनाइएको छ ।
