
पूर्णपुष्टि, साउन ७
एक महिलाको एक्लो प्रयास र आँटमा संञ्चालन गरिएको त्रियुगाको एक कृषि फर्म बाढीको जोखिममा परेको छ । बर्षेनी त्रियुगा खोलाले कटान गर्दै आएको फर्मलाई यो बर्षको बाढीले पनि कटान गरेको छ । बाढीले कटान गर्दा फर्ममा लाखौँको क्षती पुगेको छ । त्रियुगा नगरपालिका वडा नं १ स्थित मदन भण्डारी सडकको बेल्टार जाने बाटो फुलजोर मुनीको परदेशी एग्रो कृषि फर्ममा त्रियुगा खोलाको बाढी छिर्दा लाखौँको क्षती भएको हो ।
फर्म संञ्चालक उस्मा राईका अनुसार बर्षेनी खोलाले कटान गर्दै आईरहेको अवस्थामा यो बर्ष पनि करिब अढाई बिघा जमिन र अन्य संरचनाहरुमा क्षती पुराएको छ । यो बर्षको बाढी फर्म तर्फ हानिदा १४ लाख बराबरको संरचना र भौतिक वस्तुहरु बगाएको राईले बताउनुभयो । बाढीले अढाई बिघा जमिन सहित ठुलो मात्रामा संरचनाका लागि ल्याएको बालुवा, ढुँगा र निर्माण गरिएको डिपिसी, कुखुराको चल्ला र अन्य भौतिक संरचनाहरु पनि नष्ट गरेको बताउनुभयो ।
बाढीको समस्याका कारण फर्मलाई जोगाउन निकै समस्या परेको उहाँले बताउनुभयो । पटकपटक आएको बाढीले मानवीय क्षती नभएपनि कृषि उत्पादन, पशुचौपाय, जमिन र संरचनाहरुमा भने ठुलो क्षती गरेको हो ।
फुलजोर खहरे र बरुवाको बाढीले दुवै पटिबाट फर्मलाई क्षती गरेको छ । बाढी रोक्न आफ्नै लगानी र नगरपालिकाको स्काभेटरले केहि वालुवा बोरा राखिदिएपनि त्यसले बाढीलाई थाम्नै नसकेपछि बाढी फर्म तर्फ छिरेको हो । राईले आफु बस्ने संरचनामा सबै पानी छिरेको र अन्य ठाउँमा बसोबास सारेर सुरक्षीत गरेपनि त्यहाँको उत्पादन र पशुचौपायहरु भने जोखिम अवस्थामा रहेको बताउनुभयो ।
बाराम्बार एउटा कृषि फर्ममा बाढीले क्षती पुराएपनि स्थानीय निकायहरुले भने कुनै पनि चासो नदिएको संञ्चालक उस्माको गुनासो छ । कृषि क्षेत्रमा सरकारको निकै ठुलो लगानी छ भनिन्छ फर्ममा बाढीले यत्रो क्षती पुराउँदा पनि कुनै सहयोग र बाँध निर्माणको लागि प्रयास गरिएको छैन्, उहाँले भन्नुभयो” यो समस्या प्रति स्थानीय सरकारको रुपमा रहेको त्रियुगा नगरपालिकाले पनि ध्यान पुराईदिनु पर्ने अनुरोध उस्माको अनुरोध छ ।
कृषिलाई सम्मान र प्रोत्साहन गर्ने हो भने प्रकृति बिपदको बेला सम्बन्धित निकायहरुले संरक्षणका लागि आवश्यक सहयोग गर्न उहाँको भनाई छ । राईले तत्कालै यहाँ बाँधको समस्या भए दिगो रुपमा आफुले फर्मलाई संञ्चालन गर्दै आत्मा निर्भर उदाहरणीय कृषक र अन्यलाई पनि रोजगार दिन सक्ने गरी फर्म संञ्चालन गर्ने सोच रहेको बताउनुभयो ।

अन्य समय सबै ठिक भएपनि बर्खाको समयमा भने उत्पादन गर्न नसकिने हुँदा सदाबाहार तरकारी उत्पादनमा समस्या रहेको राईको भनाई छ ।
बर्खा बाहेकको समयमा भने तरकारीले आफुलाई निकै खुसी बनाएको उहाँको भनाई छ । बाढी रोकथाम गर्न सके बर्खामा पनि तरकारी उत्पादन गरी आत्मानिर्भरमुखि निरन्तर रहने उहाँको भनाई छ ।
उहाँले तत्कालै बाँध निर्माणका लागि सम्बन्धित निकायहरुलाई माग पनि गर्नुभयो । जोखिम क्षेत्र घोषणा गरी यस ठाउँलाई भने तत्काल संरक्षण गर्न बाँध निर्माण गरिनु पर्ने उहाँको माग छ । बर्षेनी लाखौँको कमाई गर्दै आईरहेको सो फर्ममा निरन्तर कृषि उत्पादनका लागि भने बाँधको पहिलो आवश्यक रहेको उहाँले बताउनुभयो ।
