Friday, May 15News That Matters

त्रियुगा नगरपालिकाले ऐलानी जग्गा नाप्न सुरु गर्यो

पूर्णपुष्टि, पुस १५ गते । 

उदयपुरको त्रियुगा नगरपालिकाले आधुनिक मेसिनबाट ऐलानी जग्गाको नापजाँच थालेको छ । पालिका क्षेत्रको ऐलानी जग्गा विवरण संकलन कार्यका लागि मङ्गलबारदेखि नाँपजाँच सुरुवात गरेको हो । नाँपचाँच गरी विवरण संकलनपछि चासभोग गर्नेलाई जग्गाको स्वमित्व दिने प्रक्रिया थाल्ने जनाएको छ ।

पालिकाले औपचारिक कार्यक्रमको आयोजना गरी वडा नं. ६ देखि सो कार्यको सुरुवाती गरेको हो । नगरवासीको प्रमुख समस्या, आवश्यकता र चाहना अनुरुप यस्तो कार्य थालनी गरिएको मेयर बलदेव चौधरीले बताउनुभयो । वहाँका अनुसार वडा नं. ६ देखि थालिएको कार्यलाई  १६ वटै वडामा विस्तार गरिनेछ । कामको प्रभावकारिता र पारदर्शिताका लागि ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशक समितिनै बनाइएको छ ।

पालिका क्षेत्रमा करिब ६० प्रतिशत जग्गा ऐलानी, प्रति रहेको जनाउदै ऐलानी जग्गाको विवरण संकलनको उद्देश्यले चासभोगका आधारमा फारम भर्न निवेदन माग यस अघि गरिएकामा करिब १९ हजारले निवेदन दिएको उहाँले बताउनुभयो ।

जग्गा नापजाँचका लागि आधुनिक मेसिन, टोटल स्टेशन मेसिन प्रयोग गर्ने जनाइएको छ । त्यस्ता मेसिन हाल नगरपालिकामा दुईवटा रहेका छन् । भएका दुई मेसिनले वडा नं. ६ र वडा नं. १ देखि नाँपजाँचको काम थाल्ने र अन्य थप दुईवटा मेसिन किनेर सबै वडामा तीन महिनाभित्रमा नाँपजाँच गरी ऐलानी जग्गाको विवरण निकाल्ने कार्य गरिने मेयर चौधरीले बताउनुभयो । विवरण संकलन लगत्तै नगरबासीलाई स्वमित्व दिने काममा नगरपालिका लाग्ने, ढिलोमा डेडवर्षभित्रमा नागरिकलाई स्वमित्व दिने काम पुरा गर्ने उहाँले बताउनुभयो ।

यस कामलाई पूरा गर्न अझै पनि प्रदेश र संघबाट नीति, निर्देशन र अधिकार प्राप्त गर्न आवश्यक रहेकाले त्यो प्राप्तीका लागि नगरबासीको साथ र सहयोग आवश्यक परेमा माग्ने मेयर चौधरीले बताउनुभयो । “हामी दृढताका साथ नगरबासीको आवश्यकता र चाहना अनुरुप यो काम थालेका छौं, विवादरहित बनाउन र आवश्यक परे संघ र प्रदेशमा जनमत देखाउन नगरबासीको सहयोग माग्नेछौं ।” वहाँले भन्नुभयो, “नगरबासीको पूर्ण सहयोग मिल्नेछ भन्नेमा म विश्वस्त छु ।”

ऐलानी जग्गामा सदियौंदेखि जग्गाको चासभोग रहनुका साथै लाखौ खर्चेर घर बनाएर बसिरहेका भएपनि स्वमित्वको सामान्य निस्सा प्रमाणसम्म नरहेको समस्या धेरै छन् । त्यस्तो ठाउँमा नगरपालिकाले बस्ती उठाउँन पनि नसक्ने र राजस्व पनि उठाउन नसक्ने समस्या छ । नागरिकको बसोबासीको अधिकार, जग्गा स्वमित्व पाउने अधिकारलाई सम्मान गर्दै हाल ऐलानी जग्गाको विवरण संकलन गरी स्वमित्व दिने कामसम्मको प्रक्रिया थालिएको मेयर चौधरीले बताउनुभयो । जग्गाधनी पूर्जा दिने स्थानीय सरकारको अधिकारलाई प्रयोगमा ल्याउने अभ्यासको रुपमा पनि यस कामलाई लिइएको छ ।

नगरबासीले भोगीचर्ची गरेको आधारमा नापजाँच गरी बढिमा डेड विगाहासम्म जग्गा स्वमित्वमा दिने पालिकाले प्रावधान बनाएको उमेयर देवीकुमारी चौधरीले जानकारी दिनुभयो । अभियानको रुपमा यस कार्यलाई अगाडी बढाइने उहाँले बताउनुभयो ।

कामको सिलसिलामा जग्गा, सिमा, साँधको विवाद आएमा टोल विकास संस्थाहरुले समाधानको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको छ ।

ऐलानी जग्गाको विवरण संकलन तथा व्यवस्थापन निर्देशक समितिका संयोजक वडा नं. १२ का अध्यक्ष जयविक्रम राईले ऐलानी जग्गा विवरण संकलन तथा व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेकाले सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो । लामो समयदेखिको नागरिकको आवश्यकता र चाहनालाई मध्येनजर गर्दै थालिएको कामलाई पारदर्शी र प्रभावकारी बनाउन लागी परेको बताउनुभयो । यो कार्यले नगरबासीको सबैभन्दा ठूलो हित हुने ठहरका साथ नगरपालिकाले प्राथमिकतामा राखेर काम थालेको उहाँले बताउनुभयो । तसर्थ, सबैले साथ सहयोग गर्न उहाँले आग्रह पनि गर्नुभयो ।

सुकुम्बासी समस्या समाधान आयोगका पूर्व अध्यक्ष वेदप्रसाद पोखरेलले सबैको साथ सहयोग र विवादरहितरुपमा यो कार्य अगाडी बढेमा जनताले जग्गाको स्वमित्व पाउन सक्ने बताउनुभयो । विगत जस्तो अहिलेको स्थानीय सरकारले विचमै काम अधुरो र अपुरो नछाड्ने उहाँले बताउनुभयो ।

नेकपा उदयपुरका सचिव इश्वरमणी राउतले जनताको आवश्यकता र चाहना अनुरुप कार्य थालनी भएकाले सफलरुपमा पुरा हुने आशा व्यक्त गर्नुभयो । जनताको आवश्यकताको काम भएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । नगरपालिकाको यस कार्यले आफुहरुलाई उत्साहित बनाएको वडा नं. ६ जलजले निवासी सत्रुधन साहले बताउनुभयो ।

जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधि, टोल विकास संस्था र जग्गाधनीको प्रत्यक्ष उपस्थितिमा अमिनीसहितको प्राविधिक टोलीले वडा नं. ६ को गैरुनदेखि ऐलानी जग्गा विवरण संकलन थालिएको समितिका संयोजक राईले बताउनुभयो ।

तस्बिरहरु :