पूर्णपुष्टि, पौष १६
गाईघाटको त्रियुगा मेडिकलबाट उपचार पछि घर फर्काएको २१ दिने शिशुको बाटोमै मृत्यु भएको छ । शनिवार ११ बजे उपचारका लागि ल्याएको बच्चाको उपचारपछि घर फर्काएको अवस्थामा बाटोमै मृत्यु भएको परिवारले जनाएको छ । उदयपुरको रौतामाई गाउँपालिका ८ का रोहित केप्छाकी र तारा मगरको २१ दिने बच्चाको उपचार गरेर घर फर्कदा मृत्यु भएको उनिहरुले जनाए । मृतक शिशुका बुवा रोहित केप्छाकीका अनुसार सामान्य विरामीका कारण सानो बच्चालाई निमोनिया लाग्ने डरले तत्काल मेडिकल ल्याएका थियौँ, तर बच्चा सन्चो हुनुका साटो उल्टै ज्यान गयो । करिब १ बजेतिर डाक्टरले बच्चा जाँच गर्दा सामान्य रहेको कुरा डाक्टरले आफुहरुलाई जनाएको उनले बताए । डाक्टरले रगत र युरिनियम समेत जाँच्दा पनि निमोनिया र अन्य कुनै विराम नभएको तर अलिकति कफ जमेको कुरा मात्र बताएको उनले जनाए । कफ रहेका कारण बच्चालाई बाफ दिनु पर्ने र २ ओटा सुई दिनु पर्ने डाक्टरले सल्लाह दिएको केप्छाकीले जनाए ।
सुई दिएको १५–२० मिनेट पछि बच्चाको मृत्यु भएको परिवारको भनाई
परिवारले बच्चालाई सुई दिए पश्चात करिब १५ मिनेटको अन्तरमा बच्चाको ज्यान गएको जनाए । त्रियुगा नगरपालिका ९ गैरुन वस्दै आएका रोहित र तारानै मेडिकल गएका थिए । बच्चा सामान्य अवस्थामै छ, आमा र नानीलाई घर पठाउनु तपाई चै रिपोर्ट लिएर जानु १ घण्टा पछि रिपोर्ट आईहाल्छ भनेर रोहितलाई डाक्टरले भनेका थिए । डाक्टरकै सल्लाह अनुसार रोहितले आमा र बच्चालाई अटोमा हालेर घर पठाएका थिए । तर घर पुगेर हेर्दा बच्चाको ज्यान गैसकेको थियो ।
बच्चा पुरै पहेलो अवस्थामा रहेको बुवा रोहिले बताए । गैरुन कति पनि टाढा छैन गाईघाट बाट करिब ५ मिनेटमै पुग्न सकिन्छ । बच्चाको बाटोमै ज्यान गएको हुनु पर्छ । घर पुग्दा बच्चा मरिसकेको थियो, यसको आधारमै भन्न हो भने बच्चालाई सुई लगाएको करिब १५ मिनेटपछि ज्यान गएको हो, उनले भने,” बच्चा पुरै पहेँलो र त्यो अवस्थामा देखेपछि तत्काल फर्काएर बाटोकै नजिक रहेको त्रियुगा हस्पिटलमा बच्चा देखाए, तर त्यहाँबाट बच्चा मरिसकेको जनाउँदै त्रियुगा मेडिकलमै लैजान भनेपछि उनिहरुले फेरी सोही मेडिकलमा पुराएका थिए ।
मृत्यु भएपश्चात अन्तिममा जिल्ला रेफर
बच्चाको उपचारमा खटिएको डा. सन्जीव यादवले आफुले बच्चालाई जिल्ला रेफर गरेको जनाए । उनले क्लिनिकमा भर्ना गर्न नमिल्ने भएसी बच्चालाई जिल्ला रेफर गरेको जनाए । उनले सुरुमाचै आफैले बच्चाको उपचार गरेको तर अन्तिममा चै जिल्ला गएको समेत जनाए । डा.यादवले बच्चा सर्केर मृत्यु भएको जनाएको छ । बच्चा सर्किँदा तत्काल अक्सिजन चाहिने हुँदा त्यसको अभावमा मृत्यु भएको जनाए । घर भएको कारण नर्सले घर जान भनेपछि बच्चा र आमा घर गएको डा. यादवको भनाई छ । सोही अवस्थामा बच्चा सर्केर मरेको हुन सक्ने उनले जनाए । यादवका अनुसार कुनै मान्छे हिडदै गर्दा पनि सर्किन सकिने र फोक्सोमा कप्स छिर्दा अथवा दुध छिर्दा यसको असर भएको जनाए । यता परिवारले भने डाक्टरले गलत बोलेको जनाएको छ । बच्चाको मृत्यु पश्चात पून ः मेडिकल लिएर आएपछि मात्रै जिल्ला लैजान भनेको परिवारले जनाए । पहिले सामान्य छ भन्दै उपचार गरेको डाक्टरले घर नपुग्दै मृत्यु भएको बच्चालाई मेडिकल फर्काएपछि बल्ल भने डाक्टरले जिल्ला जान भनेको परिवारको भनाई छ । मेडिकलको लापर्वाही भन्दै परिवार तथा आफन्तहरुले बिरोध गरेका छन् ।
