पूर्णपुष्टि, असोज ३० गते ।
धरान–८ को दुर्गापथ स्थित गैरीगाउँको खहरे खोलाको जमेको पानीमा डुबेको अवस्थामा एक जना युवकको शव फेला परेको छ । पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेका युवा सोही ठाउँको अन्दाजी २६ वर्षीय रुपेश खातुन रहेको इलाका प्रहरी कार्यालय धरानका ईन्स्पेक्टर प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले बताए ।
स्थानीयले नबिन सेन्चुरिका अनुसार बिहान ७ बजेको समयमा पानीमा घोप्टो अवस्थामा डुबिरहेको देखेर प्रहरीलाई खबर गरेको बताए । घटनास्थल नजिकै घर रहेका खातुन सानिआमासंगै बस्दै आएका थिए ।
मृतकको टाउकोमा चोट लागेको र पानीमा घोप्टो परेर डुबिरहेको अवस्थामा शव फेला परेको थियो । मृतकको कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध र लागुऔषध प्रयोग गरी सेकपछिको लागुऔषधका खोल र सुई फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको शव मुचुल्का उठाएर अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा लगिएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
