Tuesday, June 9News That Matters

एकै स्थानमा तीन छुट्टाछुट्टै धर्म संरचनाको शिलान्यास

पूर्णपुष्टि, पौष २८

भोजपुर जिल्लाको अरुण गाउँपालिका–३ प्याउलीस्थित म¥याङ् डाँडामा किराँत, हिन्दु र वौद्घ धर्मका तीन छुट्टा–छुट्टै संरचनाको शिलान्यास भएको छ । धार्मिक सहिष्णुता कायम राख्न एकै स्थानमा तीन वटै धर्मका धर्मगुरुहरुले शास्त्रीय विधिबाट शिलान्यास भएको हो ।

स्थानीय तोरण कार्कीले निशुल्क रुपमा दिनुभएको करिब २० रोपनी जग्गामा अरुण वहुउद्देश्य आध्यात्मिक परिषद्ले मन्दिरहरुसँगै अतिथि गृहको पनि शिलन्यास गरेको छ ।

भक्तजनका लागि अतिथि गृह, सबै धर्मका सङ्ग्राहलय, ध्यान केन्द्र र धार्मिक ज्ञान लिन आउने विद्यार्थीहरुका लागि छात्राबास लगायतका संरचना बन्ने प्रतिष्ठानले जनाएको छ ।

आगामि १० बर्ष भित्र निर्माण कार्य सम्पत्र गर्ने लक्ष्यका साथ ९२ करोड ९८ लाख १२ हजार ९५४ रुपैया बराबरको डिपीआर तयार गरिएको प्रतिष्ठानका अध्यक्ष चुडामणि दाहालले जानकारी दिनुभयो ।

विराट महायज्ञ तथा अरुण संस्कृति महोत्सवबाट सङ्कलन गरिएको रू ५५ लाखको लागतबाट संरचनाहरुको निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष गजेन्द्र कार्कीले जानकारी दिनुभयो । संरचनाका लागि धेरै रकम आवश्यक हुनाले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा दाताहरुसँग सहयोगको लागि गाउँपालिकाले आग्रह गरेको छ ।

तीन वटै धार्मिक संरचनाहरु धर्म अनुसारकै शैलीमा निर्माण हुने छ । पछिल्लो समयमा धर्मका बहानामा देखिएका विसङ्गती तथा समाज विखण्ड गर्ने खालका क्रियाकलापहरु नियन्त्रणमा सहयोग पुग्ने पनि अध्यक्ष कार्कीले वताउनुभएको छ ।