
पूर्णपुष्टि, असार ४ गते ।
रोपाई हुनुअघि नै सरकारले यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पहिलो पटक रोपाईं हुनुभन्दा पहिला नै धानको समर्थन मूल्य तोकेको हो ।
मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको समर्थन मूल्य २ हजार ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
पहिलो पटक रोपाईं हुनुभन्दा पहिले नै धानको समर्थन मूल्य तोकेपछि किसानका लागि बचत सुनिश्चित भएको मन्त्रालयले दावी गरेको छ । किसानले व्यवसायीलाई बिक्री गर्न नसके सरकारी कम्पनीले खरिद गर्ने मन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत समर्थन मूल्य तोकिएको बालीको बजारको ग्यारेन्टी गर्ने उल्लेख छ ।
उत्पादन गरेको बाली बिक्री नभए सरकारले खरिद गर्ने सुनिश्चित भएपछि किसानले ढुक्कका साथ उत्पादनका लागि लगानी गर्ने र त्यसले कृषि उपज उत्पादनमा समेत वृद्धि हुने मन्त्रालयको दावी छ ।
