
कात्तिक २८ गते ।
सर्लाहीको चक्रघट्टामा धारिलो हतियार प्रहार गरी सौताको हत्या गरेको छ । क्रघट्टा गाउँपालिका–४ सुन्दरपुर निबासी शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको हत्या गरेको हो ।
पराल काट्ने फलामको गरासले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको छ । खुर्सिदाको विभत्स तरिकाले हत्या गरिएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपि कोरैसाले खुर्सिदाको हत्या गरेको प्रहरीले जनाएको छ । जेठीको सन्तान नभएपछि श्रीमान् बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा प्रयोग गरिएको हतियार लुकाएर राखिएको अवस्थामा बरामद गरेको र कोरैसालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
