Monday, July 6News That Matters

नम्बर प्लेट बदलेर मोटरसाइकल चोरेको अभियोगमा एक युवा पक्राउ

पूर्णपुष्टि, भदौ ४

नम्बर प्लेट बदलेर मोटरसाइकल चोरेको अभियोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक युवालाई पक्राउ गरेको छ । रामेछाप दोरम्वा गाउँपालिका–२ बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्दै आएका २२ वर्षीय तेज थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा गंगबुबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२– ०१० प ९४४६ खुल्न आएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका थापा मगरलाई महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वर पठाइएको महाशाखाका प्रवक्ता एसपी संजीव शर्मा दासले जानकारीदिनुभयो ।

उक्त नम्बरको मोटरसाईकल १० दिन अगाडीमात्र काठमाण्डौ, पेप्सीकोलाबाट हराएकोले खोजतलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका –३ घर भई हाल काठमाण्डौ मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिए अनुरुप प्रहरीले खोजतलास कार्य गरिरहेको थियो ।