Tuesday, June 9News That Matters

नयाँ धरहराको उद्घाटन

बैशाख ११ 

आज प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित नयाँ धरहराको उद्घाटन गर्नु भएको छ । धरहराको २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टीकासाथ प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गर्नु भएको हो ।

धरहराबाट काठमाण्डौ उपत्यकाको अवलोकन पनि गर्नु भएको छ । छ वर्षअघि भूकम्पले ढालेको धरहराको टावर बनाउने काम सम्पन्न भएको छ ।

भुकम्पले भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ ।

त्यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको उद्घाटन भएपनि तत्काल अवलोकन गर्न पाइने छै । आगामी मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी भएको जनाईएको छ ।

धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ । धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहेको छ । जमिनमाथि भुइँतलासहित २३ तला हुनेछ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर रहेको छ ।

धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छ । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भ¥याङसमेत जडान गरिएको छ ।

धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२ औं तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।