
पूर्णपुष्टि, चैत १८
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १४ जना कुष्ठरोगी भेटिएका छन् ।
पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जनाएको छ ।
साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएको जनाईएको छ । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका छन् ।
त्यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक–एक पुरुषमा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैन् ।
यसअघि नवलपुरमा १६ कुष्ठरोगी सम्पर्कमा आएकामा उनीहरुको उपचार गरिएको थियो । कतिपय कुष्ठरोगी सामाजिक विभेदका कारण थाहै नदिई घरमा बस्ने गरेको जनाएको छ ।
नवलपुरलाई कुष्ठरोग मुक्त जिल्ला बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।
छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन ।
