
पूणर्पुष्टि, जेष्ठ, ३
निषेधाज्ञामा सवारी रोकेर लुटपाट गरेको आरोपमा प्रहरीले हत्यार सहित दुई जनालाई पक्राउ गरेको छ ।
निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गरेको भन्दै दुईजनालाई सर्लाहीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको हो ।
वैशाख २६ गते राति ईश्वरपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा दुईवटा ट्रकका चालक र एउटा पिकअप गाडीको सहचालकलाई लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् ।
बीआर ३० यू ७७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एक थान नलकटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान सुनको हनुमानी र टल्किने ज्याकेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
चालक र सहचालकसँग नगद ३७ हजार रुपैयाँ विभिन्न कम्पनीको पाँच थान मोबाइल, सुनको हनुमानी लगायतका सामान लुटेको घटनामा उनीहरु संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।
