
पूर्णपुष्टि,माघ २९
बनेपा र नृत्य निर्देशक संघ नेपाल काभ्रे शाखाको तेस्रो अधिवेशन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले कला संस्कृतिको जगेर्नाका लागि नृत्य निर्देशक संघले पु¥याएको योगदानको कदर गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो । प्रमुख बादेले बनेपाको मौलिक नाच राजा रानी नृत्यलाई बृहत बनाउन समेत आग्रह गर्नु भएको छ ।
नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकहरु अहिले पनि विविध कारणले पीडामा रहेको बताउनुभयो । वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटाले आफू बुढेसकालमा समेत कलाक्षेत्रमा सक्रिय रहेको अनुभव सुनाउनु हुँदै कला क्षेत्रको उत्थानको लागि निरन्तर लागिरहन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय महासचिव बिक्रमजंग शाहले पद्धिछल्लो समय कोभिडका कारण कलाकारहरुले खेप्नुपरेको पीडा बारे जानकारी दिदै कोभिडको मारमा परेका कलाकारहरुलाई राहतका लागि सरकारले खासै चासो नदिएको गुनासो राख्नुभयो । केन्द्रीय महासचिव शाहले राष्ट्रिय संगितकर्मी संघले कोभिडको समयमा कलाकारहरुको लागि राहत बाँडेको बताउँदै आगामी दिनमा कलाकारहरुका लागि सरकार तथा स्थानीय तहका सरकारले उचित निती निर्माण गर्न आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा चर्चित गायक हरि कर्माचार्यले कोभिड पश्चात विभिन्न राजनितिक कार्यक्रममा भिड जम्मा गर्न मिल्ने तर कलाकारहरुले गरिखाने बाटो साँस्कृतिक कार्यक्रमहरु संचालन गर्न भने अझै सहज नरहेको गुनासो राख्नुभयो । कलाकारहरुका लागि भए पनि मेला महोत्सव तथा खुल्ला कार्यक्रमको आयोजना गर्ने वातावरण मिलाउन सम्बन्धित पक्ष अनि सरकार र स्थानीय तहलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक, संगितकर्मी लगायतका कलाकार तथा कलाप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
अधिवेशनले पुनः नृत्य निर्देशक मोहन तौजलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा नारायण हेंगजु, सचिवमा अमरकृष्ण चन्द, सह सचिवमा रविन्सन श्रेष्ठ, कोषाध्यक्षमा सिसुम श्रेष्ठलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
यसगरी सदस्यहरुमा धनराज श्रेष्ठ, सोनिया शाक्य, कविता शाक्य, सुरेश दनुवार, मनिषा भुजेल, ईश्वर थापा, जानु शाही, काजल श्रेष्ठ, संगिता मानन्धरलाई अधिवेशनले चयन गरेको छ ।
