Friday, June 5News That Matters

नेताकै घरमा जुवाडे, नेतासहित सबैलाई मुद्दा

पूर्णपुुष्टि, असोज २७ गते ।
चाँडबाँडमा विकृतिजन्य क्रियाकलाप रोक्ने उद्देश्यले कडाई गरेको उदयपुर प्रहरीले नेतासहित आठ जनालाई ताससंगै गएराती पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई मुद्दादर्ता गरी पाँचदिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट स्थित नेपाली कांग्रेसका क्षेत्रीय सभापति बसन्त बस्नेतको घरमा बस्नेतसहित आठजना तास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्ने अन्यहरुमा गाईघाट र बोक्सेका भविन्द्र खत्री, सुमन्त कोइराला, लुमिनि कार्की, किरण पाण्डे, बालकृष्ण कार्की, दुर्गा श्रेष्ठ र राजु राउत रहेका छन् ।
उनीहरुको साथबाट १ लाख ८० हजार ७ सय २० रुपैया पैसा र ३ बुङ तास बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले लाखौं रकम हारजीत हुनेगरी खेलेको चाल पाएको प्रहरीले रातीनै पक्राउ गरी सबैलाई हिरासतमा राखेको थियो । भोलीपल्ट मुद्दादर्ता गरी सबैलाई प्रहरीले पाँचदिनको म्याद थपेको हो ।
चाँडबाँड वा रमाईलोको नाममा कानूनबाट प्रतिबन्धित जुवा, तास तथा सामाजिक विकृतिजन्य क्रियाकलापलाई कडाईका साथ रोक्न लागि परेको प्रहरीले जनाएको छ ।