Monday, June 29News That Matters

नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

पूर्णपुष्टि, असार २७

नेपालमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको हो ।

काठमाण्डौका २ जना र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौ महानगरपालिका–१० शङ्खमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको थियो । फोक्सोमा पानी जमेको र मिर्गाैला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै काठमाण्डौकै गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मिर्गाैलाका बिरामी ती पुरुषको २५ गते निधन भएको थियो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वाब नमुना सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै सिन्धुपाल्चोक पाँचपोखरी–६ का ४५ वर्षीय पुरुषको पनि २५ गते नै निधन भएको थियो । असार १८ गते क्षय रोगको उपचारको लागि पाटन अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।