नेपाली बैज्ञानिक काफ्ले जापानमा पुरस्कृत, सबैलाई दिलायो नेपाली गौरब

पूर्णपुष्टि, मंसिर ८

नेपालको सामान्य सरकारी विद्यालयमा अध्यायन गरेर पनि बैज्ञानिक बन्न सफल एक नेपाली युवा हुन् आनन्द काफ्ले । उदयपुरको उदयपुरगढी गाउँपालिका–५ घर भएका काफ्ले बैज्ञानिक मात्र भएनन् जापानमा पुरस्कृत पनि हुनुभएको छ ।

टोकियो युनिभर्सिटी अफ साईन्स, जापानमा “पोष्टडक्टरल फेलो” को रुपमा कार्यरत उनलाई आफ्नो  क्षेत्रको अनुसन्धनमा उत्कृष्ठ ठहरिदै  पुरस्कृत हुनुभयो । उहाँले जापान ओइल केमिष्ट सोसाईटीको तर्फबाट वर्ष २०१९ का लागि “जर्नल अफ ओलियो साईन्स बेष्ट अथर अवार्ड” प्राप्त गर्नुभएको हो ।

गतवर्ष जर्नल अफ ओलियो साईन्समा प्रकाशित उहाँका अनुसन्धानमुलक लेखहरुका आधारमा उहाँलाई सो पुरस्कार मिलेको हो । जिल्लाको पञ्चावती माध्यामिक विद्यालयमा विद्यालयस्तरको पढाई पुरा गर्नुभएका उहाँले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट आइएससी र विएससी गर्नुभएको थियो । त्रिभुवन विश्व विद्यालय, रसायन शास्त्र केन्द्रिय विभाग, किर्तिपुरबाट रसायन शास्त्रमा एम.एससी गर्नुभएको थियो ।

एक नेपाली युवा बैंज्ञानिक भएर जापानमा पुरस्कृत हुनुले खुसी छाउने त छदैछ, सबैभन्दा धेरै उदयपुरगढी गाउँपालिका र सिंगो उदयपुर जिल्लाबासीले गौरब गरेका छन् । उदयपुरगढीका नेकपाका युवा नेता देव गिरीले उहाँ जस्तो ब्यक्तित्व पालिकाले जन्माएकोमा गौरब लागेको बताउनुभयो । उहाँको काम र योगदानले अन्य सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई उच्च प्रेरणा मिल्ने गिरीले बताउनुभयो ।

जापान ओइल केमिष्ट्स सोसाईटी तेल तथा तेलीय पदार्थहरुसंग संबन्धित अनुसन्धान गर्ने जापानी बैज्ञानिकहरुको संगठन हो । त्यसमा अन्य देशका बैज्ञानिकहरु पनि सदस्यको रुपमा आवद्ध छन् । सोसाईटी मार्फत सन् १९५२ देखि प्रकाशित हुदै आएको जर्नलले तेलीय पदार्थहरुसंग सम्बन्धित खाद्य, पोषण, औषधिविज्ञान, रसायनशास्त्र, कृषि तथा जीवविज्ञानसंग सम्बन्धीत अनुसन्धानमुलक लेखहरु प्रकाशित गर्दै आएको छ ।

बैज्ञानिक काफ्लेको काम

उहाँले विरामीको शरीरमा सजिलो र प्रभावकारी तरिकाबाट औषधिको पारवहन गर्न उपयोग हुने “एड्भान्स्ड ड्रग डेलिभरी सिस्टम” संग संबन्धित अनुसन्धान गरिरहेका बैज्ञानिक हुन् । क्यान्सर जस्तो विरामीको उपचारमा प्रयोग हुने प्रविधिमा विरामीलाई दिइने औषधिलाई “लिपोजोम” भनिने अति सुक्ष्म कणहरुमा बन्द गरी सुईमार्फत रोग प्रभावित अंगसम्म पुर्याउने प्रयास गरिन्छ ।

पछिल्लो समय यसैको प्रयोगबाट क्यान्सरको उपचार बढी प्रभावकारी हुनुका साथै आवश्यक पर्ने औषधिको मात्रा र साईड इफेक्ट दुबै कम भएका छन् । तरपनि यसतो पद्धति पर्यापत मात्रामा प्रभावकारी भने हुन सकेको छैन । परिणामतः क्यान्सर अझै पनि उपचारको हिसावले मुस्किलकै रोगको रुपमा रहिआएको छ । यस पछाडिको कारणको रुपमा “ड्रगडेलिभरी भेहिकल” भनेर चिनिने लिपोजोमहरुको अस्थिर प्रकृति, पर्याप्त मात्रामा औषधि बोक्ने क्षमताको कमि, रोग प्रभावित अंगमा पूग्नु अगावै फुटेर औषधिको चुहावट हुनु तथा त्यस्तो अंगमा पुगिसक्दा पनि औषधिको निकास हुन नसक्नु आदि रहेका छन् ।

औषधि आपूर्ती गरिसकेपछि शरीरबाट यस्ता “ड्रग भेहिकल” हरुको निस्काशन गर्नु अर्को ठूलो चुनौतीको रुपमा रहि आएको छ । अझ महत्वपूर्ण कुरो, “फोस्फोलिपिड” भनिने जैविका रसायनबाट निर्माण हुने यस्ता “भेहिकल” हरुलाई शरीर अनुकुल बनाउनका लागि कोलेष्टेरोलको उपयोग हुन्छ । पछिल्लो अनुसन्धानहरुबाट पत्ता लागे अनुसार जनावरको शरीरबाट उत्पादन गरिने कोलेष्टेरोलको प्रयोगका कारण स्तनधारी प्राणीहरुमा “बोभाईन् स्पोन्जीफर्म इन्सेप्mयालोप्याथी” नामक घातक संक्रमणलाई निम्त्याउन सक्छ ।

डा. काफ्लेले  आफ्ना  अनुसन्धानबाट कोलेष्टेरोलको सट्टामा अर्को बैकल्पिक पदार्थको उपयोग गरेर बढी रासायनिक स्थिरता भएको र बढी औषधि बहन गर्न सक्ने किसिमको “ड्रग भेहिकल” विकास गरेको दाबी गर्नुभएको छ । उहाँले आफ्नो  अनुसन्धान पत्रहरुमा व्याख्या गर्नुभएको यस्तो पद्धतिलाई रोग उपचारका अलावा छालामा पानीको मात्रा बढाउन तथा त्यसलाई आवश्यक पर्ने पोषण आपूर्तीका लागि कस्मेटिकहरुमा पनि प्रयोग गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0