
पूर्णपुष्टि, जेठ ३२ गते ।
कैलाली जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।
सीमा अतिक्रमण रोक्न, अवैध ढंगले नेपाल–भारत प्रवेश गर्न नदिन, अवैध क्रियाकलाप नियन्त्रण गर्न, चोरी निकासी बन्द गर्न तथा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।
१०१ किलोमिटर खुल्ला सिमाना रहेको कैलालीमा पछिल्लो समय ६ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । पछिल्लो एक सातामा मात्रै ५ वटा बीओपी स्थापना गरेको सशस्त्र प्रहरीको न. ३४ गणले जनाएको छ ।
सीमा क्षेत्रमा हुने समस्याको नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको छ । नेपाल–भारत सीमामा थुप्रै समस्या छन् । ती समस्या अन्त्यका लागि सरकारले बीओपी बढाउने निर्णय गरेको हो । कैलालीमा बीओपीको संख्या बढेको छ । अब सीमा सुरक्षा एवं सीमा क्षेत्रका नागरिकले सुरक्षाको प्रत्याभूति गर्ने छन् ।
गत ३० मंसिरमा नेपालमा ११४ वटा नयाँ बीओपी स्थापना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । सोहीअनुसार कैलालीमा थप ६ वटा बीओपी स्थापना गरिएको हो । यसअघि जिल्लाको फूलबारी, भजनी र खक्रौलामा तीन वटा मात्रै पोष्ट थियो ।
पछिल्लो एक सातामा कैलारी गाउँपालिका–७ भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका–९ बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका–३ खोनपुर, भजनी नगरपालिका–७ हिक्मतपुर र टीकापुर नगरपालिका–८ श्रीलंकाटापुमा बीओपी स्थापना भएको छ ।
