
दिनेश राई
पूर्णपुष्टि, असार २५
नेस्पेक उदयपुरले त्रियुगा नगरपालिका–१५ खाँबुमा सोमवार कृषि औजार र विउविजन हस्तान्तरण गरेको छ । वल्डभिजन इन्टरनेशनल नेपाल र साझेदार संस्था नेस्पेक उदयपुरले उक्त सामग्री वितरण गरेको हो ।
विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोविड–१९) ले ग्रामीण कृषकमा पर्न गएको असरलाई मध्यनजर गर्दै वल्डभिजनको आर्थिक सहयोग र नेस्पेक उदयपुरको समन्वयमा यो कृषकमुखी कार्यक्रम गरिएको नेस्पेकका अध्यक्ष अर्जुन पोखरेलले बताए । पोखरेलका अनुसार– ‘यस कार्यक्रमले कृषक बर्गमा केही सुधार र सहयोग मिल्ने अपेक्षा रहेको बताए ।’
कृषिकलाई कृषि औजार र विउविजन त्रियुगा नगरपालिका वडा नं. १५ खाँबुका वडाअध्यक्ष निरबहादुर आले मगरले वितरण गरेका थिए । मगरका अनुसार–‘यस किसिमको कार्यक्रम वडाबासीका लागि स्वागत योग्य रहेको भन्दै सहयोगी संस्थाहरुलाई धन्यवाद दिएका थिए ।’ साथै, कार्यक्रम निरन्तरताका लागि आग्रह समेत गरे ।
एकल महिला, दलित र अति विपन्न बर्गलाई बिशेष प्राथमिकता राखेर वडाका ७२ घर परिवारलाई लक्षित गरिएको नेस्पेक उदयपुरका सामाजिक सहजकर्ता बुङाला राईले बताएकी छन् । राईका अनुसार कृषि औजारतर्फः हजारी–७२ थान, कुटो–७२ थान, स्प्रे–७२ थान र पहेलो पासो–७२ थान वितरण गरिएको थियो । त्यस्तै, विउविजनतर्फः काउली–७२ प्याकेट, काँक्रो–७२, करेला–७२, लौका–७२, टमाटर–७२ र रायो साग–१ सय ४४ प्याकेट वितरण गरेको जनाईएको छ ।
कार्यक्रम त्रिनपा–१५ साउनेको वडा कार्यालयमा भएको थियो भने कार्यक्रम संचालन नेस्पेककी सामाजिक सहजकर्ता बुङाला राईले गरेकी थिईन् ।
