
पूर्णपुष्टि, चैत ६
सीटीईभीटीको परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा पाँच जनालाई पक्राउ परेका छन् ।
जनकपुरधामको एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानको आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट पाँच जना फोटोकपी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिका–३ का रोहित गुप्ता, मनोज श्रेष्ठ, वडा नम्बर–४ का विजयकुमार साह, वडा नम्बर–५ का कौशलकिशोर साह र जयकुमार साह पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
