
पूर्णपुष्टि, असार ९
वर्षासँगै पहिरो खसेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेको छ । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक गाडी बीच बाटैमा अलपत्र परेको हो ।
तातोपानीको लिपीङ् बजारदेखि करिब २ सय मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएको प्रहरीले जनाएको छ । चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ ।
तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि त्यही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेदेखि बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुनः सञ्चालनमा आएको थियो ।
तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।
