Friday, May 22News That Matters

पानी प्रति बोतल १६ र जारको ५० रुपियाँ

पूर्णपुष्टि, साउन २७

सरकारले प्रशोधित पानीको बोतल र जारको समर्थन मूल्य निर्धारण गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी भदौ १० देखि लागू हुने पानीको समर्थन मूल्य निर्धारण गरेको हो ।

प्रशोधित प्रतिबोतल १६ रुपियाँ र प्रतिजार ५० रुपियाँ मूल्य तोकिएको छ । यसअघि प्रशोधित प्रतिबोतल २० रुपियाँ र प्रतिजार ६० रुपियाँमा बिक्री भइरहेको विभागले जनाएको छ । यसअघि जारको पानीको अधिकृतम खुद्रा मूल्य प्रतिजार ६० रुपियाँ तोकिए पनि उपभोक्ताले ४०÷४५ रुपियाँमै किनेर खान पाइरहेका थिए ।

सरकारले निर्धारण गरेको पानीको मूल्यले आमउपभोक्तालाई राहत नभई घात भएको उपभोक्ता अधिकारकर्मीले बताएका छन् । जारको पानीको गुणस्तरको विषयमा वास्ता नगरी विभागले पानी उद्योगीसँग मिलेर जारको पानीको मूल्य बढाएको आरोप उपभोक्ता अधिकार अनुसन्धान मञ्चले लगाएको छ ।

काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर भक्तपुर) र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल र जारको पानीको समर्थन मूल्य तोकिएको हो । विभागका निर्देशक सागर मिश्रको नेतृत्वमा गत असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।

विभागले तोकेको नयाँ मूल्य भदौ १० गतेबाट लागू हुने र कार्यान्वयन नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियावली २०७६ अनुसार कारबाही गरिने कार्यदलका संयोजक मिश्रले बताए ।

पानी उद्योगी र सरोकारवालासँग छलफल गरेर पानीको मूल्य तोकिएकाले कार्यान्वयनमा कुनै समस्या नभएको विभागले जनाएको छ । विभागले तोकेको पानीको न्यूनतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिने जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ ।

यसअघिको स्टक भदौ ९ गतेसम्म सक्नुपर्ने र १० गतेपछि विभागले तोकेको एमआरपीभन्दा बढी लेखिएका जार, बोटल बजारमा भेटिएमा कारबाही हुने पनि चेतावनी दिएको छ ।

अहिले बोतल र जारको पानीको मात्रै समर्थन मूल्य तोकिएको र केही समयपछि ट्याङ्करबाट बिक्री गरिने पानीको पनि मूल्य तोकिने गरिने जनाईएको छ । विभागका अनुसार प्रतिजार डिस्ट्रिब्युटर मूल्य ३५ रुपियाँ तोकिएको छ भने प्रशोधित पानी एक लिटर बोतल प्रतिकार्टुन डिस्ट्रिब्युटर मूल्य भने १ सय ३० रुपियाँ कायम गरिएको छ ।