Sunday, May 17News That Matters

परीक्षा पास भएको १ महिनाभित्र अनुमतिपत्र

पूर्णपुष्टि, फागुन १४

यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र परीक्षा पास गरका सेवाग्रहीहरुलाइ एक महिना भित्र चालक अनुमतिपत्र दिने भएको छ । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रै अनुमतिपत्र दिने भएको हो ।

ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।

अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । यो कार्डको खरीद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागि पठाइसकेकाले  ठीक भए नयाँ कार्ड ल्याएर धमाधम धेरै छपाइ हुने जनाएको छ ।

विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४ सय ५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५ सय छापिने विभागले जनाएको छ । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो ।

कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ ।

‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ । विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ ।