
उदयपुर, असोज १२ गते ।
शिक्षकहरुले चार महिनाको पुरा तलवसँगै दशैँ पेश्कि नपाएपछि त्रियुगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । त्रियुगा नगरपालिका भित्रका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुले दुई महिनाको तलब र दशैँ पेश्की मात्रै पाएपछि नगरपालिकामा आईतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल शिक्षक संघ त्रियुगा नगर कार्यसमिति, नेपाल राष्ट्रय शिक्षक संगठन त्रियुगा नगर कार्यसमिति र एअ नेपाल शिक्षक संगठन त्रियुगा नगर कार्यसमितिले संयुक्त रुपमा नगरका उपमेयर देवी कुरमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण विक्रम थापालाई ध्यानाकर्षण पत्रसँगै प्रेस विज्ञप्ति समेत बुझाएको थियो ।
नगरपालिकाले यस विषयलाई गम्भिर रुपमा लिएकाले कुनै श्रोत भए तत्काल उपलब्ध गराउने व्यावस्था मिलाउने नगरपालिकाका उपमेयर चौधरीले बताईन् । पहिला दिने चौमासिक तलब अहिले त्रैमासिक भएर आएकाले केन्द्रिय सरकारले नै दुई महिनाको तलब र दशैँ पेश्कि पठाएको त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मणविक्रम थापाले बताए ।
केन्द्रिय सरकारले पुरा तलब नपठाएकाले यो समस्या आएको हो । नगरमा कुनै त्यस्ता खालको बजेट नभएकाले तत्काल बाँकी तलब भत्ता उपलब्ध गराउन नसकिएपनि केहि श्रोत खोजेर छिटै उपलब्ध गराउने प्रप्रअ थापाले बताए ।
गत वर्षहरुमा दशैँ विदा हुनु भन्दा पहिला नै दिने चार महिनाको तलब भत्ता र दशैँ पेश्कि घटनास्थापना सकिदा पनि नदिएकाले तत्काल निकासा गर्न माग गर्दै माग सुनुवाई नभएको खण्डमा चरणबद्ध रुपमा सशक्त आन्दोलन गर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
नगर भित्र रहेका सामुदायिक विद्यालयहरमा कार्यरत शिक्षक, बाल विकास शिक्षक तथा कर्मचारीले गत वर्षहरुमा निरन्तर पाउदै आएका चौमासिक तलब भत्ता र चाड पर्व खर्च यसपालि नदिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाले शिक्षकहरुको माग पुरा नगरे चरणबद्ध रुपमा सशक्त आन्दोलन गर्ने योजना रहेको नेपाल राष्ट्रय शिक्षक संगठन त्रियुगा नगर कार्यसमितिका अध्यक्ष जंगबहादुर खड्काले बताए । खाईपाई आएको सरकारले दिने सेवा सुविधा नगरले कटौति गरेकाले तत्काल उपलब्ध गराउनु पर्ने माग गर्दै आएको अध्यक्ष खड्काले बताए ।
