Sunday, June 7News That Matters

पुस महिनाको सर्वश्रेष्ठ प्रहरीमा २ असई

बिराटनगर, माघ ७ गते । 

प्रत्येक महिना सर्वश्रेष्ठ पुलिस घोषणा गर्दै आएका १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले पुस महिनामा दुई जना प्रहरी सहायक निरिक्षकलाई सर्वश्रेष्ठ प्रहरी घोषणा गरेको छ । १ न. प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) मा कार्यरत प्रहरी सहायक निरीक्षक किरण मोक्तान र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गापोमु लिम्बुलाई घोषणा गरेको हो ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ अवैध हातहतियार सहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेको भन्दै महिनाको सर्वश्रेष्ठ प्रहरी घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दै उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’  स्तरसम्मका प्रहरी कार्यालयहरुमा एक महिना भर राखिदै आएको जनाएको छ ।

त्यस्तै गत मंसिर महिनामा इलाका प्रहरी कार्यालय दिङला भोजपुरमा कार्यरत महिला प्रहरी जवान सविना खत्रीलाई पुरस्कृत गरिएको थियो ।