Wednesday, June 10News That Matters

पूर्व राष्ट्रपति सार्कोजीलाई ३ वर्ष जेल सजाय

पूर्णपुष्टि, फागुन १८ 

फ्रान्सको पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई त्याहाको अदालतले तीन वर्ष जेल सजाय तोकेको छ ।

पूर्व राष्ट्रपति सार्कोजीले आफूविरुद्ध लागेको एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा अदालतले जेल सजाय तोकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

जेल सजाय हुने सार्कोजी फ्रान्सका पहिलो राष्ट्रपति हुन् । ६६ वर्षीय सार्कोजीले सजाय भएकामध्ये दुई वर्ष जेलमा र बाँकी एक वर्ष घरमै बस्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि १२ सम्म फ्रान्सको राष्ट्रपति थियो ।

सार्कोजीका कानुन व्यवसायी र सरकारी अधिकारीबीच भएको टेलिफोन कुराकानी सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो । सार्कोजीका कानुन व्यवसायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको छ ।

सार्कोजीलाई आफूले गरेको काम गलत थाहा हुँदाहुँदै पनि संलग्न भएको र कानुन व्यवसायीले न्यायालयको छवि बिगारेको न्यायाधीशले उल्लेख गरेको जनाईएको छ ।

सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा आर्थिक अनियमितता गरेको आरोपमा सार्कोजीविरुद्ध मार्च १७ देखि अर्को सुनुवाइ पनि हुँदै छ ।