Saturday, May 16News That Matters

पोखरामा जटिल संक्रमितलाई समेत बेडको अभाव

पूर्णपष्टि,कार्तिक १६

पोखरामा कोरोना संक्रमित जटिल बिरामीहरुलाई प्रसस्त मात्रामा बेडको अभाव भएको छ । संक्रमितको बढ्दो संख्याका कारण पोखरामा सिकिस्त संक्रमित विरामीहरुलाई बेडको अभाव हुन थालेको हो । गत साता कोरोना संक्रमित पोखरा–१५ कि ५२ वर्षीया महिलालाई सघन उपचार कक्ष (आईसीयू) मा राख्नुपर्ने भयो । आर्थिक अवस्था कमजोर रहेकी ती महिलालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइयो ।

कोभिड–१९ उपचार केन्द्र रहेको अस्पतालले आईसीयू बेड नभएको भन्दै फर्काउन खोज्यो । वडाध्यक्षको सिफारिसमा बल्लतल्ल बेड मिल्यो । आईसीयूमा राखेको तेस्रो दिन उनको निधन भयो ।

कोरोनाको ‘हटस्पट’ बन्दै गइरहेको पोखरामा जटिल अवस्थाका संक्रमितलाई राख्न आईसीयू र भेन्टिलेटरको अभाव भएको छ ।

पोखरा–१५ मा यो साता कोरोना संक्रमणबाट श्रीमान् र श्रीमतीले ज्यान गुमाए । कोरोना संक्रमित ८१ वर्षीय पुरुषको शुक्रबार पोखरा नयाँगाउँको घरमै मृत्यु भयो । कोरोनाबाट श्रीमतीको मृत्यु भएको ४ दिनपछि उनको मृत्यु भएको हो ।

प्रदेशले पोखराको लेखनाथमा सञ्चालन गरेको सरुवा रोग तथा संक्रामक अस्पतालमा आईसीयू नै सुरु हुन सकेको छैन । आईसीयूका सामग्री र भेन्टिलेटर भए पनि जनशक्ति अभावमा थन्किएर बसेका छन । कोरोना संक्रमितको उपचार गर्ने भनेर खोलिएकै अस्पतालमा आईसीयू छैन । अस्पतालले हाल ४८ बेडको आइसोलेसन मात्र चलाएको छ ।

कास्कीमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ६ सय नाघेको छ । तर जिल्लाभर सञ्चालनमा रहेको कोभिड विशेष अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आईसीयू बेड १० वटा र भेन्टिलेटर दुइटा मात्रै छन् । गण्डकी प्रदेशमा शुक्रबार सबैभन्दा धेरै २ सय ६९ जनामा कोरोना संक्रमण देखिँदा १ सय ८३ जना कास्कीका मात्रै थिए ।

गण्डकी प्रदेशमै पछिल्लो दुई सातायता कोरोना संक्रमितको संख्या बढिरहेको छ । संक्रमित संख्या ७ हजार नाघ्दा सक्रिय संक्रमित ३ हजारभन्दा बढी छन । तर प्रदेशभरि भएको आईसीयू बेड संख्या १ सय ७६ र भेन्टिलेटर ५७ मात्रै रहेको छ ।