Sunday, June 28News That Matters

पोखरा रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न

पूर्णपुष्टि, असोज १३

माछापुच्छ्रे हिमालको फेदमा निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय रङ्गशालाको भौतिक निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको छ । एक अर्ब २८ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रङ्गशाला निर्माणको काम ८६ प्रतिशत सम्पन्न भएको हो ।
निर्माणाधीन रंगशलाको निर्माण कार्य सम्पन्न भएपछि नेपालकै ठूलो रङ्गशाला हुनेछ । पछिल्लो समय निर्माण सामग्रीको अभावमा केही कामहरु रोकिएको पश्चिमाञ्चल खेलकुद विकास समितिले जनाएको छ ।

भारतबाट ल्याउनुपर्ने सामग्री नआउँदा पीई बिल्डिङको निर्माण कार्य रोकिएको छ । स्टेडियमको पश्चिमतर्फ भीआईपी सिटमध्येको छानो निर्माणको काम पनि रोकिएको छ । अहिले पोखरा रङ्गशाला निर्माणमा २० जना नेपाली कामदारले काम गरिरहेको जनाईएको छ ।

चेन्जिङ्ग रुम, मिडिया सेन्टरलगायतको काम सकिएको छ । अब छतसँगै बिजुली जडान गर्ने काम बाँकी रहेको छ । स्टेडियमको चारैतिरको पिच निर्माणाधीन अवस्थामा रहेको छ भने १७ वटा शौचालय निर्माण भइसकेको जनाईएको छ ।
ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम चलिरहेको छ । गत मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका केही खेल यही पोखरा रङ्गशालामा भएको थियो ।