Sunday, May 17News That Matters

प्रकृतिले भरिपूर्ण रौतासुकेपोखरी ओझेलमा

पूर्णपुष्टि, साउन ४

उदयपुरकोक रौतामाई गाउँपालिकामा एक प्रकृतिक सुन्दरताले भरिएको रौतासुकेपोखरी ओझेलमा परेको छ । जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं ५ स्थित सुकेपोखरी हेर्दामात्र पनि मनमोहक छ । ठूलठूला चार भञ्ज्याङको बीचमा बटुको जस्तै असमान्य किसिमको खाल्डो छ । प्रचार प्रसारको अभावले ओझेलमा परेको सो ठाउँ देख्ने जो कोही यति ठूलो खाल्डो कसरी भयो भनेर आश्चर्यमा पर्ने गर्छन् । स्थानीयले भने सो ठाउँलाई प्रकृतिको उपहार मानेका छन् । सो पोखरी अहिले उनीहरुकै संरक्षणमा रहेको छ ।

स्थानीय कैलाश राईका अनुसार वर्षातको बेला पानी जमिन्छ । टनाटन भरिदा एकबाँस, दुईबास पनि डुब्छ । स्थानीयहरु त्यहाँ प्रकृतिको उपहार ठान्दै वर्षातमा पौडी खेलेर रमाउछन् भने हिउँदमा खाल्डोभित्रै फुटबल, भलिबल खेलेर रमाउँछन् । स्थानीय युवाहरुले हरेक बर्ष त्यहाँ भलिबल प्रतियोगिता नै आयोजना गर्ने गरेका छन् । ठूलो आकारको आल्डो रहेकाले खाल्डोभित्र पस्दा फाँटिलो हरियो चौरीको अभास हुन्छ । खाल्डो क्षेत्रमा साना हरिया दुबो जातका झार र साना प्रजातीका बनस्पतिभात्र छन् । सदियौदेखिकै ठूलो रुख छैन । ठुलो प्रजातीको विरुवा उम्रिएकोसम्म छैन ।स्थानीय शिक्षक संगतबहादुर राईका अनुसार उक्त स्थान प्राकृतिक, धार्मिक, पौराणिक सबै हिसावले महत्वपूर्ण रहेको छ । पर्यटन प्रवद्र्धनको हिसावले झनै महत्वपूर्ण छ । अग्लोडाँडाँको चार भन्ज्याङहरु पूर्वमा हाँसेभञ्ज्याङ, पश्चिममा बाँघढुङ्गा भञ्ज्याङ, उत्तरमा एलम्बर भञ्ज्याङ र दक्षीणमा खोपन भञ्ज्याङले घेरिएर रहेको सुकेपोखरी क्षेत्रबाट तराई पहाड, हिमालको दृष्यावलोकन गर्न सकिन्छ । चारै भञ्ज्याङ्को फरक फरक विशेषता छन् । बाँघढुङ्गा भञ्ज्याङ विशेष छ । त्यहाँ रहेको बाँघढुङ्गा विशेष छ । सो ढुंगामा ठूला मानिस, बच्चा मानिस, विभिन्न जनावर, पंक्षीहरुको पाईलाहरुका प्रष्ट आकृति देखिन्छन् । त्यसले सो ठाउँलाइ एतिहासिक र पौराणीक महत्वको ठाउँ दर्शाउछ । स्थानीयले सो ढुंगाको संरक्षण गरिरहेको प्रेमबहादुर कार्कीले बताउनुभयो ।

त्यहाँ किराँत थलो पनि रहेको छ । हरेक वर्ष किराँत राई समुदायले उधौली, उभौली मनाउदै साकेला नाच्ने गरेका छन् । उनीहरुले साकेला घर निर्माण गरेका छन् । नजिकै सिकारी थानसमेत रहेको वडा सदस्य धनकुमार राईले बताउनुभयो ।

त्यहाँको मौसमको पनि खास विशेषता छ । छिनमै बादलले ठाक्ने, चिसो हावा चल्ने र चिनमै खुल्दिने गर्दछ । स्वच्छ हावा, सुन्दर प्राकृतिक दृष्य पनि त्यहाँको विशेषता हो ।

नजिकै रौता पोखरी रहेकोले पनि सुकेपोखरी ओझेलमा परेको देखिन्छ । उदयपुरको प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल रौता पोखरी भन्दा केही तल तर अग्लो भुभागमा नै रहेको छ सुकेपोखरी । सोही सुकेपोखरीबाट रौतापोखरीमा रौतामाई भगवती सरेको किंवन्दन्ती कथा छ । रौतामाई गाउँपालिकाले अहिले सो पोखरीको संरक्षण, प्रवद्र्धन गर्दै सो क्षेत्रमा पर्यटकीय तथा औद्योगिक  विकासको कदम सुरु गरेको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । अध्यक्ष खड्काका अनुसार प्रदेश सरकारको लगानीमा सुकेपोखरी जाने सडक र पोखरीको वरीपरी चारै भञ्ज्याङ छुनेगरी सडक खनिएका छन् । चारै भञ्ज्याङलाई सम्याउने काम भएको छ । भविष्यमा ठाउँसुहाउदो भौतिक संरचनाहरु निर्माण गरिने उहाँले बताउनुभयो । पोखरीदेखि उत्तरपूर्वतर्फको क्षेत्रलाई औद्योगिक ग्राम तोकेको छ ।

पालिकका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले सो ठाउँ पर्यटकीय तथा औद्योगिक क्षेत्रको रुपमा अगाडी बढाउन पालिकाले कदम अगाडी बढाएको बताउनुभयो । सो ठाउँमा हाल नालीसहितको सडक निर्माणको काम भइरहेको छ । खानेपानी लगायतका अन्या आवश्यकीय कुराहरु र संरचनाहरु निर्माणमा अवका दिनमा काम गरिने उहाँले बताउनुभयो ।