
पूर्णपुष्टि, जेठ २७ गते ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा नेपालको अन्तरराष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ ।
सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट शीर्षकमा मन्त्रालयगत छलफल सकिएपछि संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा राखिएको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ ।
गत जेठ ९ गते सङ्घीय संसद् सचिवालयमा दर्ता भएको विधेयक जेठ १९ गते सदनमा पेश भएको थियो ।
