Sunday, June 28News That Matters

प्राकृतिक प्रकोपपछि स्वास्थ्य समस्या आउन सक्ने, सावधानी हुन डाक्टरको आग्रह

पूर्णपुष्टि, असार २७

मनसुन सक्रिय भएसँगै यस वर्ष पनि बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोप सुरु भइसकेको छ । यस्ता विपत्तिपछि विभिन्न रोगको जोखिम हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

विपत्तिसँगै तत्कालीन रुपमा शरीरमा चोटपटक लाग्ने, अंगभंग हुने, पानीमा डुबेको छ भने फोक्सोमा समस्या हुने जस्ता स्वास्थ्य समस्या देखिन्छ । यस्ता समस्याको तत्कालै उपचार गर्नुपर्ने हुन्छ । यस्तै दोस्रो चरणमा पानी, खाना वा हावाबाट सर्ने रोगको जोखिम हुन्छ । यस अन्तर्गत झाडापखाला, छालामा हुने इन्फेक्सन, जण्डिस, टाइफाइड, श्वासप्रश्वास सम्बन्धी लगायतका समस्याहरु हुन सक्ने भएकाले जनरल फिजिसियन डाक्टर युवराज शर्माले सावधानी अपनाउन सुझाव दिएका हुन् ।

अहिले कोरोना महामारीको बेलामा त झनै यी कुराहरुमा ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । यस्तै विपत्तिमा परेकाहरुको परिवारका सदस्य गुमेका हुन सक्छन् । घरखेत लगायतका धनसम्पत्तिको नोक्सानीसमेत हुने भएकाले दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य समस्यासमेत देखिन सक्ने हुन्छ ।

पानीबाट सर्ने रोगहरु प्रकोप पछि सबैभन्दा धेरै देखिन्छन् ।  अघिल्ला  वर्षहरुको तथ्याँक हेर्ने हो भने सबैभन्दा बढी झाडापखालाको समस्या देखिने गरेको छ   । बाढी प्रभावित क्षेत्र वा प्रकोपपछि बनाइएका अस्थाई आवासमा कतिपयको ज्यान झाडापखालाको कारण जाने गरेको छ ।

जन्डिस गराउने हेपाटाइटिस ए र इ दुषित पानीबाट सर्ने गर्छ र केही  बिरामीहरुको यसले गर्दा पनि ज्यान जाने गरेको छ ।  दुषित पानी र खानाबाट टाईफाईड, रगतमासी आदि समस्या पनि हुन सक्छन् । पानी वा खानेकुरा तयारी वा भण्डारणको बेलामा वा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पनि दुषित हुन सक्छन ।

प्रभावित ठाउँमा स्रोत साधनको कमी हुने र सरसफाइमा ध्यान पुर्याउन गार्हो हुने भएकाले पनि पानीबाट सर्ने रोगहरु बढी देखिने गर्दछ  ।

यस्ता रोगबाट बच्न र बचाउनका लागि प्रभावित ठाउँमा रोगको निदान र उपचारसँगै जनस्वास्थ्यका कार्यक्रमहरु पनि सँगै लैजानुपर्ने उहाँले भनाईछ ।

प्रभावित ठाउँमा अस्थाई चर्पीको निर्माण गर्ने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, अस्थाई बासस्थान वा घर वरपर सरसफाइमा ध्यान दिने, हात धुने कुरालाई थप जोड दिने र हात धुन चाहिने पानी, साबुन, जग र धारा उपलब्ध गराउने, कपडाहरु सफा राख्ने, वरपरका पानी जमेका खल्टाहरु पुर्ने, सम्भब भएसम्म झुल लगाउने वा पुरा शरीर ढाक्ने कपडा लगाउन उपाय अपनाउन सके समस्याबाट धेरै हदसम्म जोगिन सकिने उहाँको भनाई छ ।