Saturday, May 16News That Matters

फेसबुकमा फोटो कम गर्ने हो की, नेता तथा जनप्रतिनिधी ज्यूहरु

पहरा कान्छा

बेलाबेलामै निकै रोचक प्रशंग चर्चा हुने गर्छ । “काम भन्दा प्रचार बढी”, “राहत भन्दा सेल्फी बढी” यस्तै यस्तै । हुन पनि कतिपय ठाउँमा अचाक्कलीरुपमा फेसबुके प्रचार अस्वभाविकरुपले भईरहेको पाईन्छ । यतिबेला “फेसबुके जनप्रतिनिधिहरु”को जो चर्चा छ । कहिले काँही चाहिदो र भएको भन्दा बढि नै पोष्ट गरेको भन्दै टिकाटिप्पणी हुने गरेको छ ।

भरखरै राहतकै सिलसिलामा सांसदबृत्तमा यो राम्रै चर्चा चल्यो । भिषण वर्षाले धनजनको क्षती पुर्यायो । उदयपुरको दुई पहाडी पालिकाहरु लिम्चुङबुङ र ताप्लीमा खाद्य्य संकट पर्यो । जनप्रतिनिधि र जनप्रतिनिधिको पहलमा ती पालिकाहरुमा प्रदेश सरकारले राहतस्वरुप खाद्यान्न उपलब्ध गरायो । खाद्यान्न सडक अवरुद्धका कारण हेलिबाट ढुवानी गर्ने प्रवन्ध पनि मिलाईयो । नेपाली सेनाको हेलीले राहत पालिकाहरुमा पुर्यायो तर, सरकारले छुट्याएको सबै राहत पुर्याउन भने सकेन । ढुवानी महंगो परेको भन्दै हेलीमा सबै राहत ढुवानी हुन सकेन ।

राहत लिएर हेलीसंगै जनप्रतिनिधिहरु पनि । पालिका पुगेका थिए । पालिकादेखि प्रदेश सांसदसम्म पुगे । राहतलाई ब्यवस्थित पार्न केही त जान आउन आवश्यक भएपनि आवश्यक भन्दा बढि पनि गए । यसो हेर्दा राहत बाड्न भन्दा आप्mनो प्रचार फैलाउन उद्धत भएको देखियो । टिकाटिप्पणी गर्नेले राम्रैसंग गरे –हेलीले मान्छेको सट्टा राहत सामग्री बोक्न पाएको भए, बढि राहत त पुग्थ्यो । राहत पुग्न पो जरुरी, जनप्रतिनिधि पुग्न केको जरुरी । यस्तै यस्तै कुराले चर्चा पायो ।

यो चर्चाको कारण त्यहि फेसबुकमा राखिएका तस्बिरहरु थिए । राहत बोकेको हेलिको अगाडी मजाले बनिबनी, ठाटिएर खिचिएको तस्बिरहरु नै थिए । फोटोकै लागि हेलि चढेजस्तो, फोटोकै लागि राहत बोके जस्तो, फोटोकै लागि गाउँ गएजस्तो त ती फेसबुके फोटोले झलक दिएको छ । अनि गर्नेले पनि किन नगरोस् टिकाटिप्पणी । कतिपयलाई के निहुँ पाउँ भन्ने भईरहेको बेला नेता र जनप्रतिनिधिहरुले नै मौका दिइरहेका छन् फेसबुकबाट ।

जनप्रतिनिधि जनता सामु जानु, राहत बोकेर गाउँ पुग्नु र फोटो खिचेर फेसबुकमा पोष्ट गर्नु कुनै नराम्रो कुरो भने पक्कै होइन । को कहाँ छ र के गर्दैछ, के हुदैछ भन्ने जानकारी दिन्छ । जानकारी भन्दा बढि प्रचार गरेको हो कि भन्ने कुराले चाँही बढि टिकाटिप्पणी आउने गर्छ । जनप्रतिनिधीहरु टिकाटिप्पणीको सिकार हुनु राम्रो होइन । प्रचारकै भोको जस्तो, आप्mनो प्रचार आफै गर्ने आफै पत्रकार, आफै सञ्चारकर्मी जस्तो देखिने होडबाजीले कति सुहाउछ ? ख्याल गर्नुपर्ने कुरो ।

आवश्यक भन्दा बढि नै फोटोहरु पोष्ट भएका हुन्छन् । यसलाई सोच्नेले सामाजिक सञ्जाल, फेसबुकको सदुपयोग नै ठानेको होला तर, टिकाटिप्पणी कम हुने गरी पोष्ट गर्नुपर्छ ! । हेलीको अगाडी ठाटिएर बस्नुको साटो जनतासंग साक्षतकार गर्दै गरेको प्राकृतिक, स्वभाविक तस्बिर राखे त्यसको महत्व फरक हुन्छ । राहत सामग्रीको अवलोकन गरेको, सम्बन्धीत व्यक्तीहरुसंग कुराकानी गरेको तस्बिर पोष्ट गरे त्यसको वजन पनि बढी हुन्छ । तर यो कुरा कमै देखिएको छ ।

बेलकाका मेयर दुर्गाकुमार थापा र लिम्चुङबुङको अध्यक्ष मेजरकुमार राईले सामाजिक सञ्जालको बढि प्रयोग गरेको पाईन्छ । जतिपनि आप्mनो गतिविधिहरु छन्, प्रायः फेसबुकमा लगाउने गरेका छन् । उनीहरुले प्रचार भन्दा जानकारीका लागि पोष्ट गर्नु राम्रो पक्ष हो । अन्य पालिकाका अध्यक्षहरुले कमै मात्र सामाजिक सञ्जाल प्रयोग गरेको पाईन्छ । प्रयोगकै लागि आएको सामाजिक सञ्जालहरु प्रयोग गर्नुपर्छ । तर कसरी यसको सदुपयोग हुनसक्छ भन्ने कुरामा कतिपय जनप्रतिनिधिहरुले हेक्का राख्न नसक्दा टिकाटिप्पणी बढेको भन्ने लाग्दछ ।

खासगरी सामाजिक÷सार्बजनिक ब्यक्तिहरुले फेसबुक, ट्विटरको स्टाटस्मा विशेष ध्यान दिनु जरुरी छ । स्टाटस् राख्दा अर्थपूर्ण र सूचना वा सन्देश मुलक हुनुपर्छ । जतिबेला पनि जस्तो बेला पनि जे पनि पोष्ट गरिहाल्नुपर्छ, फोटो देखाईहाल्नुपर्छ, फोटोमा आफु देखिनै पर्छ भन्ने सोच अव जनप्रतिनिधीहरुले कम गर्ने हो की ?

फेसबुकको प्रयोग विषय र क्षेत्र अनुसार पनि फरक पर्नसक्दछ । ब्युटिसियन, मोडलिङ, कलाकारिता क्षेत्रमा लागेकाले सुन्दरतालाई झल्काउने स्वभाविक हुन्छ । खेलाडीले खेल पोजिसन देखाउनु स्वभाविक हुन्छ । तर, गोलमोलरुपमा जसले जे गरेपनि भईरहेको अवस्था अलि अस्वभाविक देखिने गरेको छ ।

समग्रमा भन्दा फेसबुकको पोष्ट सामान्य खाएको, लाएको, उठेको, सुतेको हुनुहुदैन, कम्तिमा सूचना र जानकारी दिने वा सन्देशमुलक पक्कै हुनुपर्छ । “अब सुत्न लागेको अवस्था”, “अघाएर हात धुन लागेको अवस्था” यसको के अर्थ, के सूचना, के सन्देश ? उदाहरणका लागि, यसैको सट्टामा बेलैमा सुत्नुको फाईदा, बेलैमा सुत्न नपाउदाको असर, हातधुने विधीको बारेमा पनि त फोटो र स्टाटस् राख्न सकिन्छ नी ! यसले मात्र फेसबुक जस्ता सामाजिक सञ्जाल र प्रयोगकर्ताको महत्व बढाउछ ।

साउन, १४ गते पूर्णपुष्टि साप्ताहिकमा प्रकाशन भएको ।