
जयराम पूर्वछाने मगर
बेलका, असोज १२
उदयपुरको बेलकामा फोहर व्यावस्थापन तथा प्रांगारिक मल निर्माण उद्योगको उद्घाटन भएको छ । बेलका नगरपालिका–९ को धौरी खैरेनीमा स्थापना भएको उद्योगको भुमि आयोगका केन्द्रिय सदस्य तथा मदन भण्डारी फाउण्डेसन प्रदेश नम्बर १ का अध्यक्ष गोपाल गुरागाईले उद्धाटन गर्नु भएको हो ।
नेपाल सरकारको विशेष अनुदानमा रिसोर्स एण्ड चेन्ज आर. सि. एम. प्रालिको प्राविधिक सहयोगमा उद्योग निर्माण भएको हो । उद्योगको उद्घाटन पश्चात फोहोर ब्यवस्थापन तथा प्रांगारिक मल उत्पादनको परिक्षण समेत भएको थियो ।
बेलकामा वितरण हुन लागेको ऐलानी जग्गालाई नम्बरी बनाएर धनी पुर्जा वितरण हुन लागेको अध्यक्ष गुरागाईले बताउनुभयो । समृद्ध बेलका निमार्णमा नगरले ठुलो फड्को मारेको छ । बेलका नगरपालिकामा गौरवको योजना सञ्चालन भए संगै स्थानीय रोजगार प्राप्त भएको उहाँले बताउनुभयो ।
स्थानीय निर्वाचनको घोषणा पत्रमा उल्लेख गरेको तत्कालिन नेकपा एमाले र माओवादीले पुरा गर्न लागि परि रहेको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताउनुभयो ।
उद्योगले दैनिक ५ टनसम्म मल उत्पादन गर्न सक्ने रिसोर्स एण्ड चेन्ज आर. सि. एम. प्रालिका सञ्चालक डाक्टर प्रेम थापाले बताउनुभयो ।उद्योगमा घर तथा घर बाहिरका फोहोरहरु ल्यायर जैविक मल तथा ग्यास निमार्ण गर्न सकिने उहाँले बताउनुभयो ।
बेलका, चौदण्डी र छिमेकी जिल्ला सुनसरीको बराह क्षेत्र नगरपालिकाका फोहोरहरुलाई प्रशोधन गरेर मल तथा ग्यास निमार्ण गर्न सकिने लक्ष्य रहेको छ । सो क्षेत्रमा पर्यटनको समेत विकास गर्न सकिने बेलका नगरपालिका–९का वडाध्यक्ष मोहन घिमिरेले बताउनुभयो ।
मल उत्पादनको उद्योग संचालन भएसंगै बेलकाले प्रांगारिक मल उत्पादनमा आवश्यक ल्याव परिक्षणको कार्यहरु गर्न पर्ने देखिन्छ ।

