
पूर्णपुष्टि, कात्तिक २६
काठमाण्डौ उपत्यकामा दशैँको तुलनामा तिहार केन्द्रीत चहलपहल बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षा व्यवस्था थप मजबुत बनाएको छ ।
कोरोना सङ्क्रमणको डरले दशैँ आसपासमा बजारमा कम मानिस देखिए पनि अहिले चहलपहल बढेको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
अहिले सुरक्षा व्यवस्था थप मजबुत बनाउन जनशक्ति र चेक प्वाइन्टहरु थप्ने काम भएको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ७ सय ४९ जना जनशक्ति थप गरिएको छ । त्यस्तै २० वटा चेक प्वाइन्ट थपिएसँगै चेक प्वाइन्टको संख्या ६६ पुगेको छ ।
त्यस्तै महाशाखाले सिभिलमा ८ वटा टोलीमा ३२ जना ट्राफिक प्रहरी परिचालन गरेको छ । सिभिलमा खटिएका ट्राफिक प्रहरीले यात्रु बनेर सार्वजनिक गाडीहरुले धेरै भाडा लिएको छ की छैन भनेर जाँच गर्ने र धेरै भाडा लिएको छ भने कारबाही गर्नै गरेको महाशाखाले जनाएको छ ।
त्यस्तै महाशाखाले जाँडरक्सी पिएको छ की छैन भनेर पनि जाँच गर्न सुरु गरेको छ । महाशाखाले पछिल्लो २४ घण्टामा मात्रै ९ सय १९ वटा गाडीलाई कारबाही गरेको छ ।
कारबाहीबाट ५ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको महाशाखाले जनाएको छ । अहिले ट्राफिक प्रहरीले ४ सयदेखि ५ सय गाडीलाई सम्झाएर छाड्ने गरेको छ । त्यस्तै सांगीतिक डमी अभियान अन्तर्गत ट्राफिक प्रहरीले अहिलेसम्म ८ हजारभन्दा धेरैलाई जनचेतना दिएको जनाएको छ ।
