Monday, April 20News That Matters

बम विस्फोट हुँदा २ बालिकाको मृत्यु

पूर्णपुष्टि, कार्तिक १३ गते ।
कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा बम विस्फोट हुँदा दुई जना बालिकाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।
बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाई छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका–१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ ।‘घटनाको बारेमा यो भन्दा बढी केही जानकारी आएको छैन, अनुसन्धान भइरहेको छ’ डीएसपी रिमालले भने ।