Wednesday, June 17News That Matters

बर्षासँगै आएको बाढिमा परी पाँचथरमा ६ जना बेपत्ता

पूर्णपुष्टि,असार ३ । निरन्तरको वर्षासँगै आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । रातिको शनिबार अविरल वर्षापछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला माथिको पुल बगाइदिएको छ । हेवा खोलाको बाढीमा हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता हुनुभएको छ । तामाङ र लोवा हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत हुनुहुन्छ ।

त्यस्तै, बाढीले फिदिम–४ हेवाखोलामा गिट्टी कुटेर गुजारा चलाउँदै आएका एक जना, फालेलुङ–३ मा एक जना र फिदिम–४ माँझीटारमा दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिनुभएको छ । बेपत्ताहरूको परिचय खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको छ ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाएको छ । यस्तै, फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।