
पूणर्पुष्टि, साउन, १५
बाढीले बगाउँदा कैलालीमा ४ जना बेपत्ता भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार जानकी गाउँपालिका-२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका-८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता बाढीमा बेपत्ता भएको छ ।
‘बुधबार अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेको थियो । बस्तीमा पसेको बाढीबाट सुरक्षित स्थानमा जान खोज्दा उनीहरु बेपत्ता भएका हुन,’ प्रहरी उपरीक्षक जबराले भने, ‘उनीहरुको खोजी कार्य जारी छ ।’
प्रहरी उपरीक्षक जबराका अनुसार काडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढीको भेल बस्तीमा पस्दा उनीहरुलाई बगाएको हो । ७ जना बेपत्ता भएका मध्ये तीन जनाको भने बुधबार नै सकुशल उद्धार गरिएको उनले बताए । बेपत्ताहरुको खोजी भइरहेको छ ।
यस्तै बस्तीमै पानी पसेपछि त्यहाँका करिब ६ हजार भन्दा बढी घर ढुवानमा परेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारी अनुसार ६ हजार ३२० घर डुबानमा परेको छ । जोशीपुरमा २ हजार ३१५, भजनी नगरपालिकामा २ हजार १८०, टिकपुरमा नगरपालिकामा ८२५ र जानकी गाउँपालिकामा १ हजार घर डुबानमा परेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।
