
पूर्णपुष्टि, चैत २०
आज देशका धेरै ठाउँको मौसम सफा रहेको छ ।
बायु प्रदूषण क्रमश कम हुँदै गएको भएपनि पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने जनाईएको छ । अहिले मौसम सफा हुँदै गएको छ तर, आइतवार, सोमवारदेखि फेरि वायुमण्डल स्थिर रहने देखिएको जनाईएको छ ।
सुख्खापनका कारण देशका धेरैजसो क्षेत्रका वनमा आगलागी हुने गरेको छ । आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ । सबैभन्दा धेरै सुर्खेतका २९ ठाउँमा, सल्यानका २२ ठाउँमा र बर्दियाका विभिन्न २१ क्षेत्रमा डढेलो लागेको जनाएको छ ।
वातावरणविद्हरुले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएकाले यसको नियन्त्रणमा जोड दिएका छन् । तर पर्याप्त पानीका स्रोत नहुँदा र आवश्यकता अनुसार दक्ष जनशक्ति नहुँदा डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।
