
पूर्णपुष्टि,माघ २३
बालबालिकाहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यौन शोषणको सिकार भएका छन् । बालअधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारबादी संस्था सिविन नेपालले गरेको एक अध्ययनले नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।
कोभिड १९ का कारण लकडाउन भएपछि बालबालिकाहरु अत्याधिमात्रामा इन्टरनेटमा भुलिने भएकोले जोखिममा पर्ने सम्भावना पनि उत्तिकै बढेको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बताउनुभयो । बालबालिकाहरु अनलाइन मार्फत नचिनेको मान्छेसँग बोल्ने सम्बन्ध गाँस्ने गर्दा यौन शोषणको सिकारमा पर्ने र यसका कारण शिक्षा र मानसिक स्वास्थ्यमा समेत असर पर्ने गरेको उहाँले बताउनु भयो ।
सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७१४ जना बालबालिका तथा किशोर किशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाईन मार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको कार्यकारी निर्देशक तुलाधरले बताउनुभयो ।
अनलाइन मार्फत हुने यौन शोषणमा बालिकाको साथै बालकहरु पनि पर्ने गरेको अध्ययनले देखाएको छ । शोषणमा पर्दा सहयोग माग्ने विषयमा बालबालिकाहरु अनविज्ञ रहेको पनि पाइएको छ । बालबालिकालाई अनलाईनमार्फत् हुने हिंसा पनि अपराध नै हो भन्ने बुझाउन सक्नुपर्ने र बालबालिकाहरुलाई यसबारे जनचेतना जगाउन सरोकारवाला सबै सचेत हुनुपर्ने कार्यकारी निर्देशक तुलाधरले बताउनुभयो ।
अनलाईनमार्फत हुने यौन शोषणबारे शिक्षा दिन विद्यालयको पाठ्यक्रममै राख्नु जरुरी रहेको उहाँको भनाई छ । सिविन नेपालले अध्ययनका क्रममा सरोकारवालाहरुसँग प्रत्येक्ष रुपमा भेटेर, अन्तरवार्ता गरेर, समूह छलफल गरेर तथ्य निकालेको जनाएको छ । आज सिविनले निकालेको तथ्य सार्वजनिक गरिएको हो ।
