Wednesday, May 20News That Matters

बाली प्रणालीमा पोटासको कमी

पूर्णपुष्टि, चैत ७ 

नेपालको धान गहुँ खेती प्रणालीमा पोटासयुक्त खनिजको कमी रहेको एक अध्ययनले देखाएको छ ।

राष्ट्रिय माटो अनुसन्धान केन्द्र नार्कका वैज्ञानिकले गरेको अनुसन्धानले धान गहुँ खेती प्रणालीमा पोटासियमयुक्त मलको कमी रहेको पाइएको देखाएको छ ।

नार्कले सन् २००९ देखि २०१४ सम्म पहाड, तराई र भित्रि–मधेशमा धान गहुँ बाली प्रणालीमा गरेको अनुसन्धानमा पनि पोटासको कमी देखिएको थियो ।

वैज्ञानिकहरु रोशनबाबु ओझा, शोभा श्रेष्ठ, यज्ञगझाधर खड्का र दिनेश पाण्डेले गरेको अध्ययनमा धान गहुँमा डेढदेखि दुई गुणाले पोटासको प्रयोग बढाउन सुझाव दिइएको छ ।

नेपालमा २०३२/0३३ सालमा प्रतिहेक्टर ३० किलोका दरले पोटास प्रयोग गर्न सिफारिस गरिएको थियो । तर चार दशक अघि पोटासको मात्रा सिफारिस गर्दा त्यसबेला माटोमा पर्याप्त पोटास रहेको भएपनि अहिले माटोमा पोटास घटेको उनीहरुको दाबी छ ।

पोटासयुक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयीकरण भएर बाली–नालीमा पोटासको कमीका लक्षणहरु देखा पर्न थालेको अध्ययनले देखाएको छ ।

सरकारी तहबाट पोटास मलको सिफारिसलाई कम महत्त्व दिनु, मल वितरणमा नाइट्रोजनजन्य मललाई मात्र प्राथमिकता दिनु र किसानले गाईभैँसीको गोबरमलबाहेक पोटासयुक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयीकरण भएर बालीनालीमा पोटासको कमीका लक्षणहरु देखा पर्न थालेको विज्ञहरुले जनाएका छन् ।

बाली बिरुवाको वृद्धि–विकासका लागि नाइट्रोजन, फस्फोरस, पोटाससँगै अरु १४ वटा तत्वहरुको आवश्यकता पर्छ ।