
पूर्णपुष्टि, असार २५
राम्रो काम नपाएको भन्दै एजेन्ट सँग पैसा फिर्ता माग्न जाँदा झडप भएपछि सप्तरीमा एक जनाको मृत्यु भएको छ । झडपमा परी मृत्यु हुनेमा खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय एजेन्टका हजुरबुबा मोहम्मद दाउद मियाँ रहेका छन् ।
विदेशमा राम्रो काम नपाएको भन्दै पैसा फिर्ता माग्न गएका आफन्त र ‘एजेन्ट’का परिवारबीच बिहिबार झडप भएको प्रहरीले जनाएको छ । झडप हुँदा अर्को पक्षले चिर्पट र बाँसको भाटाले मियाँको टाउकोमा प्रहार गरेका थिए । टाउकोमा चोट लागेका उनको छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
सात महिनाअघि दुबई गएका मियाँ दाजुभाइले राम्रो काम नपाएको भन्दै परिवारलाई गुनासो गरिरहेका थिए। ‘कि राम्रो काम दिलाउनुपरो कि पैसा फिर्ता दिनुपरो भनी मियाँ दाजुभाइका आफन्त गएका थिए, यसक्रममा वादविवाद हुँदै झडप भएको थियो,’ काफ्लेले भने।
तर, उनीहरूले के कति पैसा फिर्ता मागेको भन्ने विषय खुलिनसकेको उनले बताए। ‘मृत्यु भएको परिवार शोकमा रहेकाले के कसो हो भनेर तत्काल बुझ्न सकिएको छैन,’ काफ्लेले भने। घटनासम्बन्धी जाहेरी आइनसकेको र अहिले ठाडो निवेदनमात्रै आएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए ।
