
पूर्णपुष्टि, कात्तिक ३
बिराटनगरबाट तीन जना सट्टेबाजी खेल्ने पक्राउ गरेका छन् । यूएईमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पकाउ गरेको हो ।
बिराटनगर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा तीनै जनालाई पुरुषोत्तमको घरबाट आइतबार राति करिब ११ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट तीन वटा मोबाइल र सट्टेबाजी खेल्दा हिसाब उल्लेख गर्न प्रयोग गरिएका तीन वटा डायरी बरामद भएको प्रहरीले जनाएको छ ।
सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनलाई व्यक्तिको अपहरण, शरीर बन्धक एवं कुटपिट गरिएको विषयमा गत असोज २५ गते नियन्त्रणमा लिइएका विराटनगर–११ का २५ वर्षीय रोनल कँडेलमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
कांग्रेसको भातृ संगठन तरुण दलमा आवद्ध कँडेलमाथि सट्टेबाजीमा हारेको पैसा असुल्न सञ्जय सिंहलाई नियन्त्रणमा लिएर अपहरण गर्दै रातभर होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोप छ ।

