
बैशाख ९
देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार दिनभर नै मौसम यस्तै रहने महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने आज सुधार हुने सम्भावना कम रहेको जनाएको छ ।
आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हिमपात भएको हुन सक्ने महाशाखाले जनाएको छ ।
