Thursday, May 28News That Matters

बेलसोत क्वारेन्टाइनका २६ जना सबै गाउँ गए

पूर्णपुष्टि, चैत ३० ।

उदयपुरको कटारी नगरपालिका स्थित त्रिवेणी (बेलसोत) क्वारेन्टाइनमा राखिएका २६ जना आज गाउँ जान पाएका छन् । क्वारेन्टाइनमा बसेको १८ दिनपछि आज गाउँ जान पाएका हुन् । क्वारेन्टाइनमा रहेका सबैजनाको स्वाप परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि, कारोना भाइरस संक्रमित नभएको पुष्टि भएसंगै गाउँ पठाइएको हो । नेपाली सेनाको रणसार्दुल गण, बोक्से अन्तर्गतको बेलसोत सुरक्षा गुल्मको व्यवस्थापन र सुरक्षामा रहेको सो क्वारेन्टाइनमा भारतको विभिन्न ठाउँबाट आएका उनीहरुलाई चैत १२ गते राती राखिएको थियो । गत २६ गते क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि सबैको स्वाप परिक्षणका लागि नमुना संकलन गरी धरान पठाइएको थियो । सबैको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएपछि आज सबैलाई गाउँ पठाइएको छ ।

उनीहरुलाई सम्बन्धीत स्थानीय सरकारको जनप्रतिनिधिको रोहबरमा पठाइएको रण सार्दुल गणका गणपति अर्जुन बोहोराले बताउनुभयो ।

नियमित स्वस्थ्य परिक्षण, खानपान, सरसफाइ तथा अन्य सबैखाले व्यवस्थापनका साथ राखिएका २६ जना सबैको स्वस्थ्य अवस्था सामान्य रहेको थियो । ३ जना महिला थिए । धेरैजसो ताप्ली गाउँपालिकाका रहेका थिए ।

उनीहरु ताप्ली, लिम्चुङबुङ, उदयपुरगढी र त्रियुगा नगरपालिकाका रहेका थिए । सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधिको रोहबर तथा जिम्मेवारीमा गाउँ पठाइएको हो । गाउँमा अझ एकहप्तासम्म होम क्वारेन्टाइनमा बस्ने सर्त रहेको छ । होम क्वारेन्टाइनमा स्थानीय सरकारको निगरानीमा रहने बताइएको छ ।