
पूर्णपुष्टि, जेठ २७ गते ।
ब्राजिललाई कोरोना सम्बन्धि तथ्याङ्क सार्वजकिन गर्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आग्रह गरेको छ ।
कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ ।
शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो ।
डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न आग्रह गरेको हो ।
ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्रमित छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ ।
