
उदयपुर, भदौ १८ गते ।
उदयपुरमा निजमती दिवसको अवसरमा भदौ २२ गते विबिध कार्यक्रमको आयोजना गरी भब्यताका साथ मनाउने तयारी भएको छ । प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्लामा ६ वटा कार्यक्रमको तय गरेको हो ।
बैठकले मुल समारोह समिति गठन गर्दै दिवसको अवसरमा सेवानिवृतलाई सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कृत, व्याडमिन्टन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ । बढ्दो लागुऔषध ओसारपसार र सेवनलाई न्युनिकरण गर्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता, महिला म्युजिकल चियर र प्रभातफेरीको आयोजना गरेको मुल समारोह समितिका संयोजक एवंम प्रजिअ खड्काले बताए ।
सबै कार्यक्रमको विभिन्न उपसमिति तयारी गरी २१ गते भित्र सम्पन्न गरी २२ गते पुरस्कार वितरण गर्ने गरी तयारी गरिएको उनले बताए ।
लागुऔषधको अबश्था भयाभह भएकाले स्कुले बालबालिकालाई सचेत गराउने गरी कार्यक्रम सञ्चालनका लागि कर्मचारी मिलन केन्द्रले जिम्वेवारी लिएको मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले बताए । बालबालिकालाई लक्षित गरी भदौ २१ गते आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाका ८ वटै स्थानीय तहका बिद्यालयबाट सहभागि हुने उनले बताए ।
यसकासाथै २२ गते त्रियुगा नगरपालिका–१० बोक्सेबाट गाईघाट बजारको मुख्यचौक परिक्रमा गरी जिल्ला समन्वय समितिमा समापन गर्ने गरी प्रभातफेरीको आयोजना गरिएको छ । बाँकी सबै कार्यक्रम आधाकारिक ट्रेड युनियनकै नेतृत्व रहने गरी कार्यक्रम तयारी गरिएको प्रजिअ खड्काले बताए ।
