
पूर्णपुष्टि, असार १७
भारतको भागलपुर, मोतिहारीमा रहेको सलहको झुण्ड पूर्वा तर्फ बढेकाले नेपाल आउन सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रले विशेष सूचना निकालेर दार्जिलिङतर्फ अघि बढेको झुण्ड नेपाल आउनसक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । त्यो झुण्ड नेपाल आएमा तराई, भित्री मधेश र तल्लो पहाडको क्षेत्रमा क्षति गर्ने भन्दै सचेत रहन आग्रह गरेको हो ।
केन्द्रले निकालेको सूचनामा कतैबाट सलहको झुण्ड आइरहेको छ कि भनेर जानकारी लिइरहन र झुण्ड आएमा भाँडाकुँडा तथा बाजा बजाएर तथा आगो बालेर धुवाँ फैलाइ आफ्नो बालीनालीमा बस्न नदिन प्रयास गर्न अनुरोध गरेको छ ।
केहि दिन अघि नेपालको बारा तथा रुपन्देही क्षेत्रबाट नेपाल प्रवेश गरेको सलह अहिलेसम्म २४ भन्दा बढी समूहमा बाँडिएर देशका ३१ भन्दा बढी जिल्लामा पुगेको केन्द्रले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा प्रवेश गरेको झुण्डमा झण्डै २५ लाख सलह किरा रहेका छन् भने मकवानपुर प्रवेश गरेको झुण्डमा १० लाखभन्दा धेरै सलह रहेको केन्द्रले अनुमान गरेको छ ।
सलहले विभिन्न ठाउँमा मकै, केरा, तरकारीलगायतका बालीनालीमा क्षति गरेको पनि केन्द्रले जनाएको छ ।
