Tuesday, June 2News That Matters

भारतमा एकैदिन १६ सयभन्दा धेरैको मृत्यु

बैशाख ६ 

भारतमा एकैदिन कोरोना सङ्क्रमणबाट एक हजार छ सयभन्दा धेरैको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण एक हजार छ सय २५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै गत २४ घण्टामै दुई लाख ७५ हजार तीन सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।

भारतमा अहिलेसम्म एक करोड ५० लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ७८ हजार सात सयभन्दा धेरैको मृत्यु भईसकेको छ ।

भारतमै देखिएको नयाँ भेरियन्ट, बेलायतमा देखिएको यूके भेरियन्टसहित अहिले भारतमा कोरोना भाइरसको दोश्रो लहर उत्कर्षमा पुगेको छ ।

खोप अभियानलाई तीव्र बनाएर झण्डै ११ करोड मानिसलाई खोप लगाइसकेको बताए पनि भारतमा नयाँ सङ्क्रमित थपिने क्रम दिनदिनै बढिरहेको छ । अहिले अस्पतालहरुमा अक्सिजन, औषधि र कतिपय ठाउँमा बेड नै अभाव हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

महामारीको अवस्था भयावह पुगेको भए पनि रोकथामका लागि प्रभावकारी काम नभएको भन्दै विपक्षी दल लगायत नागरिकहरुले सरकारको आलोचना गरेका छन् ।

भारतमा अहिले पनि चुनावी र्याली, महाकुम्भ जस्ता मेला, बजारलगायतका ठाउँमा स्वास्थ्य मापदण्डको खुलेआम उलङ्घन भइरहेको जनाएको छ ।